काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ भने संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले शुन्य भएको छ ।

हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार भएको निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।