काठमाडाैं ९ भदाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।
उनले प्रचण्डले प्रस्ताव गरेपनि त्यसबेला पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको समेत बताए ।
नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको गुनासो समेत गरेका छन् ।
संसद्को अवरोध खुलाउनुअघि सहमतिका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठकलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।