काठमाडौँ, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् ।
ओलीले मंगलबार आयोजित पत्रकार भेटघाटमा निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे । 
अध्यक्ष ओलीले भने, “मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०, २२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु, यो हाम्रो मामिला हो भन्दैहुनुुहन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो ।” 
निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको सङ्ख्या थपेकोमो आपत्ति जनाउँदै उनले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले ११ जिल्लामा २२ स्थानीय तह थप र केहीलाई स्तरोन्नति गरेको थियो । निर्वाचन आयोगले सरकारको उक्त निर्णयलाई आचारसंहिता विपरीत भनी स्पष्टरुपमा भन्नुपर्ने र सरकारले पनि निर्णय सच्याउनुपर्ने अध्यक्ष ओलीले बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।