काठमाडौँ — लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २९ बाट पाम तेलको निर्यात रोकिएको हो ।
पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न सरोकारवाला सरकारी निकायलाई निर्देशन दिइएको स्रोतले बतायो । ‘विस्तृत छानबिन नभएसम्मका लागि निलम्बन गरिनेछ,’ एक व्यापारीले उपलब्ध गराएको भारतको निर्देशन पत्रमा भनिएको छ । यससम्बन्धी विवरण उच्च अदालतमा पेस गर्नसमेत भारतले आफ्ना सरकारी निकायलाई भनेको छ ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) र दक्षिण पूर्वी एसियाली देशहरुको स्वतन्त्र व्यापार सम्झौताका मापदण्ड पालना नगरी नेपालबाट पाम तेल निर्यात भएको भन्दै भारतले रोकिदिएको हो । भारतको यो निर्णयलाई उद्योग, वाणिज्य तथा अर्थ मन्त्रालयका अधिकारीले पाम तेलको उत्पत्ति, तोकिएको प्रतिशतअनुसार ‘भ्यालु एड’ को प्रमाणसम्बन्धी पहिल्यैको समस्याको निरन्तरताका रूपमा अथ्र्याएका छन् । केही अधिकारीले भने यसलाई भारतसँगको चिसिँदै गएको नेपालको राजनीतिक सम्बन्धसँग जोडेर हेरेका छन् ।
भारतले कालापानी, लिपुलेक हुँदै चीनतर्फ जाने सडकमार्ग वैशाख २४ गते एकतर्फी रूपमा खोलेपश्चात् नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ ।
‘भारतको निर्णय भन्दै यताबाट निर्यात हुने पाम तेलको भारतीय भन्सार कार्यालयले जाँचपास गरेका छैनन्,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने । विवादको विषयमा यहाँको निजी क्षेत्रले प्रमाण जुटाउने र निर्यात खुलाउनेबारे उच्च तहबाट पहल हुन जरुरी रहेको उनले बताए । नेपाली व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल नेपाल ल्याई प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका थिए ।
भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले नेपालका साथै बंगलादेशबाट हुने पाम तेल निर्यातको आँकडामा समेत आश्चर्य प्रकट गरेको छ ।
‘नेपालबाट परिष्कृत पाम तेलको आयात उल्लेख्य वृद्धि भएको देखिन्छ । शून्यबाट सन् २०१७/१८ मा ४५ हजार ६ सय ६७ मेट्रिक टन र २०१८/१९ मा १ लाख ८९ हजार ७८ मेट्रिक टन आएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ सय प्रतिशतभन्दा बढी छ,’ वाणिज्य विभागको विदेश व्यापार महानिर्देशनालयद्वारा जारी निर्देशनमा भनिएको छ । बंगलादेशबाट पनि क्रमश: ३ हजार ६ सय ८९ मेट्रिक टन र २२ हजार १ सय ५१ मेट्रिक टन आयात भएको उल्लेख छ । -कान्तिपुर दैनिकबाट साभार
नेपालले आफ्नो भूमि समेटेको नक्सा सार्वजनिक गरिएकोमा उल्टै भारतको धम्की
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक







