काठमाडौँ — कोरोना संक्रमित बढेसँगै स्थानीय तह र प्रशासनले ४३ जिल्लामा निषेधाज्ञा जारी गरेर हिँडडुल गर्न, बजार–पसल खोल्न र सवारीसाधन चलाउन रोक लगाएका छन् । विज्ञहरूले भने निषेधाज्ञाले मात्र कोभिड–१९ नियन्त्रण नहुने बताएका छन् ।

सरकारले संक्रमण नियन्त्रण र बिरामीको उपचारका लागि ठोस योजना बनाउनुपर्ने उनीहरूको सुझाव छ ।
यसअघि संघीय सरकारले नै पटक–पटक समय बढाउँदै १ सय २० दिन मुलुकभर लकडाउन गरेको थियो । संक्रमितको संख्या न्यून हुँदा लकडाउन मात्रै लम्ब्याएको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि केही योजना बनाएन । त्यसैको परिणाम अहिले देखिएको विज्ञहरू बताउँछन् ।

केही सातायता लक्षणसहितकै संक्रमितको संख्या निकै बढेपछि भने संघीय सरकारले स्थानीय तह र प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार बिहीबार साँझसम्म पूर्ण रूपमा २८ र आंशिक १५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा पनि बिहीबारदेखि निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चल्न दिइएको छैन । खाद्यान्न, तरकारी र औषधि पसलबाहेक अरू पसल बन्द गरिएका छन् । सर्वसाधारणलाई घरभित्रै राख्ने गरी यसरी निषेधाज्ञा मात्रै गर्नेभन्दा पनि संक्रमण रोकथाम र नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्नुपर्ने पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले बताए ।

सर्वसाधारणको आउजाउ बढ्नु र संक्रमितको ट्रेसिङ नहुनु संक्रमण बढ्नुको मुख्य कारण भएको पूर्वस्वास्थ्यमन्त्री अधिकारीको बुझाइ छ । ‘निषेधाज्ञाको अवधिमा आउजाउ कम हुने भएकाले अब ट्रेसिङलाई जोड दिनुपर्छ,’ नेकपाका नेतासमेत रहेका उनले भने, ‘हाम्रो पार्टी पनि आन्तरिक किचलोमा रुमलिएको छ । अब नेतादेखि कार्यकर्ताको ध्यान कोरोनामै केन्द्रित गर्नुपर्छ ।’ कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।