सयौं भ्रष्टचारीलाई थुन्ने अख्तियारका पूर्व प्रमुख नै भ्रष्टचार मुद्दामा थुनामा

काठमाडौं । दीप बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त हुन् । उनै बस्न्यातले कति जना भ्रष्टचारमा संलग्नहरुलाई जेलमा थुने भनेर हरहिसाब गर्ने हो भने त्यो संख्या निक्कै ठूलै हुन जान्छ । अहिले तिनै बस्न्यात बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

विशेष अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएपछि उनी कारागार पुगेका हुन् । अदालतको आइतबारको प्रारम्भिक सुनुवाइमै ‘हुन सक्ने दण्ड र सजायलाई दृष्टिगत गरी’ बस्न्यातलाई थुनामा राख्न आदेश जारी भएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

बस्न्यातमाथि ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ । गैरकानुनी र स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको तथा लुकाएको आशंकामा बस्न्यात, उनको परिवारका केही सदस्य र गुप्त साझेदारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । बस्न्यात अख्तियार प्रमुखका रूपमा नभई त्यसअघि सचिवका रूपमा काम गर्दा भएको विवादास्पद निर्णयका कारण भ्रष्टाचार मुद्दामा परेका हुन् ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा उनले दुईपटक मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासक्षेत्र र त्यसबाहिरको ललिता निवास भनिने ठाउँको सरकारी जग्गा मोहीका नाममा छ भनी फाइल खडा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको र त्यसका आधारमा मन्त्रिपरिषद्ले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोप बस्न्यातमाथि थियो ।